अबको रोडम्याप राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव : सिलवाल

१३औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा हुने-नहुने अनिश्चितताच राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवमा नियुक्त रमेशकुमार सिलवालले पद सम्हालेको ५ महिना नबित्दै आयोजना गरि देखाए। तेस्रोचोटि मिति सारेर अन्तिमपटक पाएको समयसीमा सदुपयोग गरी उनले अन्तर्राष्ट्रिय खेल आयोजना गरेका हुन्।

भौतिक पूर्वाधार निर्माण, स्तरोन्नती तथा सम्पन्नता, व्यवस्थापन, २६ खेल सञ्चालन र उद्घाटनदेखि समापन समारोहसम्म देखिएका चुनौतीलाई चिरेकै कारण नेपाली खेलकुदलाई नजिकबाट नियालीरहेकाहरु साग आयोजनाको जस सिलवाललाई दिएका छन।

साग सम्पन्न भएपछि केही उत्साहित खेलक्षेत्रमा क्रियाशील व्यक्तिहरूले खेलकुद बुझेका र देशका कार्यकारी प्रमुख (प्रधानमन्त्री केपी शर्मा ओली)सँग निकट सिलवालको कार्यकालमा यस क्षेत्रका समस्याहरूको दीर्घकालीन समाधान होला कि भन्ने आशा गरेका छन्।

आफ्नो चारवर्षे कार्यकालमा गौरव गर्न लायक काम गर्ने घोषणा गरेका सिलवालले केहि निश्चित कामहरु गर्नसके नेपाली खेलकुदको विकासमा दीर्घकालिन योगदान हुनुका साथै उनको कार्यकाल सफल मान्नसकिने खेल क्षेत्रका सरोकारवालाहरु बताउँछन।

उपलब्धी रक्षाका लागि दीर्घकालिन योजना
नेपाली खेलकुदमा कहिले, कहाँ पुग्ने? भन्ने दीर्घकालिन योजनाको अभाव यस क्षेत्रमा आवद्धहरुमा खड्किरहेको छ। नेपाल खेलकुद पत्रकार मञ्चका निवर्तमान अध्यक्ष महेश आचार्यले सदस्यसचिव सिलवालको अबको ध्यान दीर्घकालिन योजना बनाउन केन्द्रित हुनुपर्ने बताए।

‘सके १०–१५ वर्षमा हामी कहाँ पुग्ने भन्ने योजना नत्र कम्तीमा उनले आफ्नो चारवर्षे कार्यकालमा हामी कहाँ हुन्छौं, एसियाली तथा साग गेम्समा हाम्रो लक्ष्य यो हो भन्ने योजना सार्वजनिक गर्नुपर्यो,’ आचार्य भन्छन्। ‘योजना बनाएर मात्रै पनि भएन। स्रोत साधनको समुचित प्रयोगमार्फत त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्यो।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ अहिलेको उपलब्धी जोगाउन पनि योजनावद्ध रुपमा अघि बढ्नुपर्ने आवश्यकता औल्याउँछन।

‘हाम्रा लागि १४औं साग मुख्य चुनौतीपूर्ण हुनेछ। १३औं सागमा हामीले घरेलु मैदानको फाइदामात्रै उठाएको हैन र हामीसँग क्षमतावान खेलाडीहरु छन् भन्ने पनि प्रमाणित गर्नुपर्नेछ त्यतिबेला,’ श्रेष्ठले भने। ‘त्यसका लागि राखेप नेतृत्वले खेलाडीको प्रशिक्षण, नियमित प्रतियोगिता सञ्चालन, अन्तर्राष्ट्रिय एक्सपोजर (सिकाई) का लागि अहिलेबाटै योजनावद्ध ढंगले अघि बढ्नै पर्छ।’

सदस्यसचिव सिलवाल आफू योजनावद्ध ढंगले अघि बढ्न प्रतिबद्ध रहेका बताए। १३औं सागमा पाएको सफलता सुरुवात मात्रै भएको बताउँदै उनले आफ्नो अबको ध्यान आगामी साग, एसियाली र ओलम्पिक गेममा केन्द्रित हुने उनले बताए।

‘हाम्रो अबको ध्यान १४औं साग, ओलम्पिक, एसियाली गेम हुँदै विश्वकपसम्म रहन्छ। ‘दक्षिण एसियाली खेलकुदमा त हामी पावर हाउसकै रुपमा उदायौं। अब एसियन गेम हुँदै विश्वकपसम्मको सपना पूरा गर्न त्यही अनुसारको प्रशिक्षण र तयारी गर्छौं। त्यसका लागि म उत्तिकै जिम्मेवार र गम्भीर भएर लाग्नेछु।’

संघहरुको व्यवस्थापन
राखेपमा हाल १५६ वटा खेल संघहरु दर्ता छन। तर नेपालमा मुस्किलले ५५–६० खेलहरु खेलिन्छन् र त्यत्तिकै संघहरु सक्रिय छन। आधा जसो झोले संघहरु सरकारी तथा अन्तर्राष्ट्रिय अनुदान हात पार्ने, विदेश जाने र खेलकुदमार्फत राजनीति गर्नेमा केन्द्रित रहेको देखिदै आएको छ।

कतिपय खेलका समानान्तर दुई वटा संघहरु हुँदा त्यसले खेलाडीहरुमा मनोवैज्ञानिक रुपमा खराब असर परेको छ। संघलाई व्यवस्थापन गर्नु र वर्गिकरण गर्नु अब सदस्यसचिवको अर्को मुख्य जिम्मेवारी हुनेछ।

‘संघहरुलाई बर्गिकरण गरेर काम नगर्ने संघहरुलाई छुट्याएर तिनलाई हटाउनैपर्छ। कानुनी रुपमा नमिले काम गर्ने संघलाई बढि र काम नगर्नेहरुलाई कम महत्व दिने रणनीति लिनैपर्छ,’ पत्रकार आचार्य भन्छन्। ‘संघहरुले अहिले जसरी चलेर दिगो रुपमा खेलकुद अघि बढ्दैन। उनीहरुलाई व्यवसायिकरणमा लैजान नीजि तथा व्यवसायिक क्षेत्रसँग सम्बन्ध विस्तारको वातावरण राखेपले बनाइदिनुपर्छ।’

नेपाली खेलकुद विश्लेषक सुशिल नरसिंह राणाले पनि नेपाली खेलकुदको विकासका लागि खेल संघहरु सक्रिय हुनुपर्ने बताए। संघहरुलाई राखेपले अभिभावकत्वको भुमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।

‘मन्त्रालय नीति निर्माता हो। खेलको विकास गर्ने खेल संघले नै हो,’ सागका दौरान २६ वटै खेलका प्रशिक्षक र खेलाडीहरुलाई भेट्दै उत्प्रेरणा कक्षा चलाएका राणाले भने, ‘संघहरुले जिम्मेवारपूर्वक वार्षिक क्यालेन्डर बनाउने, स्रोत परिचालन गर्ने, खेलाडीहरुलाई वैज्ञानिक तथा वैदेशिक प्रशिक्षणको व्यवस्था मिलाउने आदि काम गर्नुपर्छ। त्यसमा राखेपले अभिभावकको भुमिका निर्वाह गरिदिनुपर्छ।’

संघहरुको समस्याबारे जानकार सिलवालले आफु नियुक्त भएलगत्तै सबै संघलाई उनीहरुले विगतमा गरेका काम र भावी योजनासहितको खाका पठाउन निर्देशन दिएका थिए। तर, सागअघि सम्म ७० संघले मात्रै सिलवालको निर्देशनको पालना गरे।

‘मैले तीनपटक विगतका काम र भावी योजना दिन भनी पत्र काटिसकेँ। अहिलेसम्म ७० वटा संघले मात्रै जवाफ दिएका छन्, बाँकी ८६ वटाले अहिलेसम्म कुनै जवाफ दिएका छैनन्’ सिलवाल भन्छन्। ‘जवाफ नपठाउनेलाई मैले अन्तिम चेतावनी दिएको छु। अब पनि कुनै जवाफ नआए, म विकल्पमा लाग्छु। यदि क्रियाशिल नभए नयाँ संघ बनाएर खेलकुदलाई गति दिन्छु।’

संघभित्रको विवाद समाधन गर्न तथा दुई संघहरुलाई एक बनाउन राखेपले उपाध्यक्ष पिताम्बर तिम्सिनाको अध्यक्षतामा समिति गठन गरेको छ। त्यसलाई सक्रिय बनाउँदै संघका विवादहरु अन्त्य गर्ने सिलवालले अठोट गरे।

‘साग समापन नहुञ्जेलसम्म कुनैपनि विवाद नआओस भनेर मैले संघहरुलाई निर्देश गरेको थिएँ। त्यतिञ्जेलसम्म फाटो नआओस भनेर मैले संघको चुनावको पनि अनुमति दिइन,’ सिलवालले भने। ‘म आएपछि धेरै संघहरु मिलेका छन् र बाँकी संघहरुलाई एक बनाइ लैजाने मेरो प्रयत्न हुनेछ।’

नियमित राष्ट्रिय प्रतियोगिता र व्यवस्थापन
सरकारले हरेक दुई वर्षमा आयोजना गर्ने निर्णय गरेका राष्ट्रिय प्रतियोगितालाई नियमित तथा व्यवस्थापन गर्नुपर्ने सिलवालको अर्को जिम्मेवारी हुनेछ।

२०७५–७६ मा भएको आठौैं राष्ट्रिय प्रतियोगिता पश्चात २०७७ मा गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद हुने घोषणा भइसकेको छ। पटक पटक विभिन्न कारणले राष्ट्रिय प्रतियोगिताको मिति सार्ने प्रवृत्तिको अन्त्य गर्दै समयमैं व्यवस्थित राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने अर्को जिम्मेवारी सिलवाल सामु छ।

‘हामीले अहिलेसम्म रिपोर्टिङ गरेका सबै राष्ट्रिय खेलकुद प्रतियोगिता विभिन्न कारणले समयमा कहिल्यै हुन सकेनन् र व्यवस्थित रुपमा कहिल्यै सञ्चालन भएनन्। सिलवाललाई अर्को वर्ष हुने नवौं खेलकुद समयमै र व्यवस्थित रुपमा गर्ने अवसर र चुनौती छ,’ दुई दशक बढि समय खेलकुद पत्रकारितामा बिताएका आचार्यले भने।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष श्रेष्ठले खेलाडीको खेलजीवन छोटो हुनेहुँदा उनीहरुलाई आफ्नो मेहनत र क्षमता देखाउने मञ्च सरकारी निकायले सुनिश्चित गरिदिनुपर्नेमा जोड दिए।

‘खेलाडीहरुले एउटा प्रतियोगिताका लागि वर्षौं मेहनत गरेको हुन्छ। घरपरिवार, खुशी, मनोरञ्जन त्यागेको हुन्छ। तर प्रतियोगिताहरु नियमित नहुँदा उसमा नैराश्यता झल्कन्छ र क्षमतावान खेलाडीहरु नै पलायन हुने अवस्था आउँछ। त्यसैले सम्वन्धित निकायले प्रतियोगितालाई नियमित गर्न जोड दिनुपर्छ,’ श्रेष्ठले भने।

सदस्यसचिव सिलवाल आगामी वर्ष गण्डकी प्रदेशमा नवौं खेलकुद आयोजना गराउन तथा व्यवस्थित रुपमा प्रतियोगिता सञ्चालन गर्न प्रतिबद्ध देखिए। उनले भने ‘छोटो समय भएकाले सागमा मैले व्यवस्थापकीय क्षमता देखाउन पाइन। नवौंमा मेरो व्यवस्थापन हेर्नुहोला। कसैले प्रश्न नउठाउने गरि काम गर्नेछु।’

खेलमा व्यवसायिकरण र खेलाडीलाइ सुबिधा
अब खेलकुदले सरकारी अनुदान तथा बजेटको मात्रै भर परेर नहुने आचार्य बताउँछन। ‘सरकारले छुट्याउने कम बजेटले खेलकुदको विकास सोचेर सम्भव छैन। अब नीजि तथा कर्पोरेट क्षेत्रलाई खेलकुदसँग जोड्दै यसलाई व्यवसायिकरण गर्नबारे नेतृत्वले सोच्न ढिलो गर्नुहुन्न,’ आचार्यले भने।

यस्तै कराते प्रशिक्षक समेत रहेका श्रेष्ठले खेलाडीहरुको पलायन रोक्न पनि खेललाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिए। ‘खेलाडीले सकुञ्जेल खेलबाट राष्ट्रलाई योगदान दिन्छ। खेल जीवनपछि के गर्ने भन्ने सुनिश्चितता राज्यले नीतिगत रुपमैं गरिदिनुपर्छ। खेल तथा खेलाडीलाई व्यवसायिकरण गर्न सके उनीहरु पनि सुरक्षित भविष्यबारे सुनिश्चित हुनसक्छन्,’ श्रेष्ठले भने।

नेपालको खेलकुदको व्यवसायिकरणमा आफू सचेत रहेको र लागि परेको सिलवालको जिकिर छ। ‘अब सरकारको मुख ताकेर मात्रै हुँदैन। मैले उद्यमी, व्यवसायी, नेपाल उद्योग बाणिज्य महासंघ, चेम्बर अफ कमर्स, उद्योग परिसंघ, बैंकर्स एशोसिएन, प्याब्सन, एनप्याब्सन, हिसानसँग अब सहकार्य गरेर अघि बढ्ने योजना अघि सारिसकेको छु,’ व्यवसायी समेत रहेका सिलवालले भने, ‘बैँकहरुको पनि सामाजिक उत्तरदायित्वअन्तर्गत ठूलो रकम जम्मा छ। त्यसको निश्चित प्रतिशत खेलकुदमा लगानी गर्नुपर्नेमा मैले प्रस्ताव लगेको छु। त्यसमा उहाँहरु पनि सकरात्मक हुनुहुन्छ।’

सिलवालले खेलाडी, प्रशिक्षक तथा खेलसम्बद्ध व्यक्तिहरुको सुविधाको लागि दरशथ रंगशाला परिसरमा सुविधासम्पन्न ‘फिजिकल फिटनेस सेन्टर’ बनाईने र त्यसमा साउना, जाकुजी, जुम्बा, आईस सेन्टरसम्मको सुविधा रहने उनले बताए।

सिलवालले खेल अस्पताल निर्माणको योजना सुनाएपनि त्यसलाई कार्यान्वयनमा लैजानु आवश्यक छ। त्यसमा आफू प्रतिबद्ध रहेको उनी बताउँछन। ‘अहिले सञ्चालित हेल्थ–सेन्टरमा समेत मैले अत्यावश्यक उपकरणसहितको ५ करोडको सामाग्री भित्र्याएको छु। चाँडै सुविधासम्पन्न अस्पताल निर्माणमा म लाग्नेछु।’

खेलको विकेन्द्रिकरण
सम्पूर्ण देशकै खेलकुदको सर्वोच्च निकाय भएकाले विकेन्द्रिकरणमा पनि सिलवालको अबको ध्यान केन्द्रित हुनुपर्ने खेलसम्बन्द्ध अधिकारीहरु बताउँछन।

गत बैशाखमा प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुदका बेला नेपालगञ्जमा रंगशाला, पौडी पोखरी, भारोत्तोलन भवन, सुटिङ रेञ्ज, भलिबल कोर्ट निर्माण भएपनि त्यसको व्यवस्थापनमा उचित रेखदेख पुग्न नसक्दा अलपत्र जस्तै बनेका छन्।

‘सदस्यसचिवले अब उपत्यकामा मात्रै नभएर मोफसलको भौतिक पूर्बाधार निर्माण गर्दै चलायमान बनाउन ध्यान पुर्याउनुपर्छ,’ प्रदेश ५ का खेलकुद विकास समिति प्रमुख भीम ओली भन्छन्, ‘विगतमा बनेका संरचनाहरुको रेखदेख र तिनमा ठूला खेलहरु सञ्चालनको वातावरण समेत राखेपले मिलाउनुपर्छ।’

सरकारले बजेटमार्फत नै सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने घोषणा गरेको भन्दै सिलवालले आफ्नो कार्यकालमा त्यसैमा केन्द्रित हुने जिकिर गरे।

‘पोखरामा सागकै दौरान रंगशाला तयार भएको छ। नेपालगञ्जमा अन्तर्राष्ट्रियस्तरकै रंगशाला छ। विराटनगर र धरानको रंगशालालाई विकास गर्ने योजना मैले बनाइरहेको छु। यस्तै बुटवल र विरगञ्जको रंगशालालाई स्तरोन्नतीमात्रै गरे अन्तर्राष्ट्रियस्तरको हुनेछ। यसका लागि प्रदेश र स्थानीय निकायको सहयोग लिदैँ म अघि बढ्नेछु’ सिलवालले मोफसलको योजना सुनाए।

यसबाहेक विगतमा देखिदैँ आएको ओलम्पिक कमिटी र राखेपबीचको दूरी बढ्न नदिने, खेलकुदका कर्मचारीहरुको व्यवस्थापन, सुशासन र पारदर्शिता कायम राख्ने, जिल्ला जिल्लामा प्रशिक्षकको व्यवस्थापन गर्दै ग्रास रुट लेभलका कार्यक्रमहरु सञ्चालन गर्ने, सम्पूर्ण खेल, खेलाडी तथा अफिसियलहरुको स्पष्ट तथ्यांक राख्नका लागि ‘डाटा सेन्टर’ सञ्चालन गर्नुपर्ने लगायत सिलवालको अबका प्राथमिकता हुनुपर्ने खेल क्षेत्रका जानकारहरु बताउँछन।

LEAVE A REPLY