नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले पार्टी परित्याग

नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले पार्टी परित्याग गरेका छन्।

सभामुखको सपथ लिएपछि सापकोटाले आफू सम्बद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सम्पूर्ण जिम्मेवारी आफूले त्यागेको जानकारी गराएका छन्।

‘संघीय संसदको प्रतिनिधिसभामा सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नका लागि यसभन्दा पूर्व म संलग्न भई कार्य गर्दै आएको नेकपा राजनीतिक दलको सम्पूर्ण जिम्मेवारीमा अब उप्रान्त आजैको मितिबाट मेरो संलग्नता नरहेको बेहोरा अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि म अलग रहेको जानकारी गराउँदछु,’ सापकोटाले विज्ञप्तिमा भनेका छन्।

मोरङको केराबारी २ सिंहदेवीमा रहेको एनसेल टावरमा अज्ञात समुहले बम प्रहार

माेरङ / मोरङको केराबारी २ सिंहदेवीमा रहेको एनसेल टावरमा अज्ञात समुहले बम प्रहार गरेको छ ।बम प्रहार पछि ठुलो आवाज आएको स्थानियले बताएको छ्न ।

केराबारीबाट घटनास्थलमा प्रहरी पुगेको छैन ।क्षतिका बारेमा थप बिबरण प्राप्त भएको छैन । दुइ दिन अघि केराबारीको गाँउ पालीका कार्यालयमा समेत आगजनी तथा बम प्रहार भएको थियो ।

गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित

काठमाडौं / गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छन् । एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी उनी साेमबार बिहान नातेदारसहित टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् ।

अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । परिवारको समन्वयमा उनलाई साेमबार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो । उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चल्नेछ । राउतलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा लगेको छ ।

चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरको मृत्यु

बेइजिङ,११ माघ — चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क ‘सीजीटीएन’का अनुसार हुबेई सिन्ह्‍वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको हो ।  कोरोना भाइरसको संक्रमणबाट डाक्टरकै मृत्यु भएको सम्भवतः यो पहिलो घटना हो। डाक्टर लियाङ कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।
योसँगै चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ।  नेपालमा पनि एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

‘कोरोना भाइरस’ नेपालमा

नेपालमा देखिएको ‘कोरोना भाइरस’ विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक नभएको चिकित्सकहरुले बताएका छन्।

शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले प्रारम्भिक अध्ययनबाट विश्वका अन्य मुलुकमा देखिएजस्तो नेपालमा धेरे खतरा नभएको बताए। उनले अमेरिका लगायतका मुलुकमा देखिएको समस्याजस्तो नेपालमा धेरै कम खतरा रहेको बताए।

‘प्रारम्भिक नतिजामा चिन्ता गर्नुपर्ने विषय देखिएन्। हाम्रोमा यो रोगका विषयमा धेरैलाई जानकारी नभएकोले पनि चिन्ता बढेको हो कि?’, उनले भने, ‘चीनमा अहिलेसम्म १७ जनाको मृत्यु भएको पुष्टि भएको छ। तर, मृत्यु हुनेमा सबै ७० वर्षभन्दा माथिका र दीर्घरोगी छन्। बालबालिका र युवाहरुमा ज्यानै जानेगरी संक्रमण देखिएको छैन्।’

अस्पतालका अर्का चिकित्सक डा. वाशुदेव पाण्डेले सुरुमा स्वाइन फ्लुको जस्तै रुघाखोकी लाग्ने, ज्वरो आउने र स्वासप्रस्वासमा समस्या देखिनेजस्ता लक्षण देखिन सक्ने बताए। यी लक्षणहरु देखिएपनि चिन्ता लिनुपर्ने अवस्था नरहे पनि चेकअपका लागि अस्पताल जान उनले आग्रह गरे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनको वुहान प्रान्तबाट सुरुमा यो भाइरसको विस्तृत प्रकोप दर, यसका लक्षण र कति समयपछि असर गर्छ भन्ने कुराहरु अझै अध्ययनकै क्रममा रहेको बताए। विश्वभरी फैलिएको यो रोगका विषयमा धेरे प्रश्नहरु अनुत्तरित रहेको बताउँदै उनले नेपालमा फैलन सक्ने संक्रमणतर्फ मन्त्रालय सतर्क रहेको बताए।

 

नेपालमा एक जनामा संक्रमण भेटिएको र उनको सम्पर्कका अन्य व्यक्तिहरुको सूची तयार गरी सबैको अवस्थाका विषयमा जानकारी लिने काम भइरहेको उनले बताए। चीनसँग जोडिएका नाकाहरु र त्रिभुवन विमानस्थलमा चीनबाट आउने सबैको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको पनि उनले जनाकारी दिए।

कुनै व्यक्तिमा लक्षण देखिएमा शुक्रराज ट्रपिकल सेन्टर, पाटन अस्पताल लगायत अन्य नीजि तथा सरकारी अस्पतालमा उपचारको व्यवस्था गर्नेगरी मन्त्रालय अगाडि बढेको उनको भनाइ थियो।