नेकपामा नयाँ खेल: गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउँदै प्रधानमन्त्री

समाचार बोर्ड :फागुन १२ काठमाडौं । नेकपा सचिवालय बैठकले संविधान संशोधन गर्न अहिले कार्यदल बनाएपछि नेकपाभित्र नयाँ खेल देखिएको छ ।
नेकपाले राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न पाउने गरि संविधान संशोधन गर्ने तयारी थालेपछि नेकपाभित्रको नयाँ खेल चलेको छ । नयाँ खेलअनुसार पार्टी उपाध्यक्षसमेत रहेका वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउँदै प्रधानमन्त्रीसम्म बनाउने तयारी सुरु भएको देखिएको छ ।
शनिबार बसेको नेकपा सचिवालय बैठकले संविधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो । नेकपाले पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपालको संयोजकत्वमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा रहने गरि तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
नेपालको संविधानले राष्ट्रिय सभाबाट कार्यकारी प्रधानमन्त्री चुनिने कल्पना गरेको छैन् । संविधान नै संशोधन नगरी त्यो व्यवस्था हुन नसक्ने भएकोले नेकपाभित्रबाट संविधान संशोधनको तयारी गर्न कार्यदल गठन गरिएकाे हाे । गठित कार्यदलले निर्णय गरेसँगै नेकपाले संविधान संशोधनको प्रस्ताव अगाडि बढाउनेछ । र, बामदेव गाैतमलाई राष्ट्रिय सभा सदस्य बनाउँदै प्रधानमन्त्रीसम्मकाे यात्रामा अगाडि बढाउनेछ ।
गत पुस २३ मा वामेदव गौतम निवास भैंसेपाटीमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरुको तर्फबाट भेला बसेको थियो । प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीको अनुपस्थितिमा भएको भेलाले सभामुख चयनदेखि पार्टीभित्रका विविध विषयमा केहि महत्वपूर्ण कदम चाल्ने निर्णय लिएको थियो ।
पार्टीभित्र केपि शर्मा ओलीले गरेको एकलौटी निर्णयलाई तोड्दै अगाडि बढ्ने निर्णय भैंसेपाटी भेलाले गरेको थियो । जसको नतिजा लगत्तै भएको सभामुख चयन प्रक्रियामा देखिएको थियो । बामदेव गौतमलाई पार्टीभित्र वैधानिक उपाध्यक्ष बनाउँदै शक्तिशाली भूमिकासहित प्रधानमन्त्रीसम्म बनाउने डिजाइन पनि त्यस समय नै भएको नेकपा स्रोतले जनाएको छ ।
राष्ट्रिय सभा सदस्यको लागि भएको निर्वाचनमा वामदेव गौतम उठ्ने पक्का–पक्की भएपनि संविधान संशोधनको एजेण्डा अन्यौलमा पर्दा गौतम पछाडि हटेका थिए । उक्त समय उनले सार्वजनिक रुपमै आफुँलाई प्रधानमन्त्री बनाउने प्रस्तावमाथि सहमति भए आफुँ उठ्ने स्पष्ट पारेका थिए ।
तर पार्टीभित्र त्यस्तो प्रस्तावमा सहमति हुन नसकेपछि उनि पछाडि हटे र राष्ट्रिय सभा सदस्यको लागि उनले आफ्नो उम्मेदवारी दिएनन् । पार्टीभित्र बहुमत सचिवालय सदस्य उनलाई राष्ट्रिय सभा सदस्य बनाउने पक्षमा भएको भएपनि तत्कालिन अवस्थामा देखिएको अन्तरविरोध हल गर्न उनको उम्मेदवारी परेको थिएन ।

वामेदव गौतमलाई प्रधानमन्त्री बनाउने गरि संविधान संशोधन गर्न कार्यदल गठन गरिएको प्रति प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपि शर्मा ओली तिव्र असन्तुष्ट छन् । स्रोतले जनाएअनुसार शनिबार बसेको सचिवालय बैठकमा प्रचण्डको प्रस्तावप्रति उनि पूर्णं मौन देखिएका थिए ।
प्रचण्डले ओलीका विश्वास पात्रसमेत रहेका अर्थमन्त्री युवराज खतिवडालाई विदाई गर्दै खतिवडाको ठाउँमा वामेदवलाई ल्याउनुपर्ने प्रस्ताव राखेका थिए । प्रचण्डले गौतमलाई न्यूनतम मन्त्री र अधिकतम प्रधानमन्त्रीसम्म बनाउने रणनीतिसहित बैठकमा उक्त प्रस्ताव लगेको बुझेपछि ओली असन्तुष्ट बनेका हुन् ।

पछिल्लो समय पार्टीभित्र एक्लो महसुस गर्दै गएका ओलीले प्रधानमन्त्रीबाट समेत हटाउने प्रचण्डसहितका अन्य नेताहरुको योजना बुझेका छन् । जसअनुसार संविधान संशोधन गर्न तयार गरिएको कार्यदललाई नै तुहाउन उनले रणनीति बनाइरहेको बुझिएको छ ।
मंसिर १९मा बसेको नेकपा सचिवालय बैठकले अन्तरिम विधान संशोधनसँगै पार्टी उपाध्यक्षको पद सिर्जना गर्ने प्रस्ताव गरेको थियो । सचिवालय बैठकले गरेको निर्णयअनुसार नै स्थायी कमिटी बैठक र केन्द्रिय कमिटी बैठकले विधान संशोधनको प्रस्तावलाई अनुमोदन गरेसँगै वामेदव गौतम नेकपाको उपाध्यक्ष बनेका हुन् ।

भूमिका बिहिन जस्तो अवस्थामा पुगेका बामदेव गौतमलाई पार्टीको कार्यकारी भूमिका दिन विधान संशोधन गरिएको छ । नेकपाभित्र उनि शक्तिशाली गुटका नेता मानिन्छन् ।उनलाई गत साउन ३१ मा बसेको नेकपा सचिवालय बैठकले संगठन विभागको प्रमुखको रुपमा जिम्मेवारी दिएको थियो ।

LEAVE A REPLY