लामो समयदेखि मिलेर जग्गा दलाली, कारोबार नमिल्दा मान्छे लगाएर साथीको हत्या

रामेछापको सोनापति गाउँपालिका ३ का चन्द्रबहादुर योञ्जनले रकम तिर्न आनाकानी गरेपछि उनको हत्या भएको पाइएको छ।

भक्तपुरको चाँगुनारायण नगरपालिका ८ बस्दै आएका योञ्जनले आफूलाई रकम तिर्न बाँकी रहेको र त्यही रकम अशुल गर्न कुटपिट गरेको शेर्पा भन्ने कामी लामाले बताएका छन्।

कामी लामा र चन्द्रबहादुर मिलेर जग्गा दलालीको काम गर्दै आएका थिए। जग्गा कारोबारकै क्रममा चन्द्रबहादुरले कामीसहितका व्यक्तिलाई करिव १६ लाख रुपैयाँ दिन बाँकी रहेको तर उनले त्यो रकम लामो समयदेखि नदिएपछि कामीले उनलाई कुटपिट गरेर रकम असुल्न अन्य व्यक्तिको प्रयोग गरेको पाइएको छ।

कामीले लगाएका रमेश र प्रेमले कुटपिट गर्दा गम्भीर घाइते भएका चन्द्रबहादुरको असोज २२ गते ज्यान गएको थियो।

कामीले आफ्नो रकम असुल्नकै लागि रमेश तामाङलाई समेत बोलाएका थिए। असोज १८ गते उनीहरुले मृतक योञ्जनको घर पहिचान गरी नयाँ बस्तीमा बसेर योजना बनाएको अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताए।

असोज २१ गते रमेश तामाङ र प्रेम तामाङ मोटरसाइकलमा भक्तपुर गएर कामी लामालाई भेटेका थिए। दिउँसोको करिब साढे ४ बजे चन्द्रबहादुरको पसलमा गएर उनीहरुले वियर खाएका थिए।

त्यही क्रममा उनीहरुले आफन्तलाई जग्गा चाहिएको बताए। जग्गा बिक्रीबाट आउने फाइदा भने बाँड्नु पर्ने शर्त राखे। योञ्जनसहित उनीहरु जग्गा हेर्ने बहानामा बिडोलफाँटतर्फ गए।

एकान्तमा रहेको धानखेतमा पुगेपछि उनीहरुले कुटपिट गर्न थाले। अनुहार, छाती र पेटमा लात्ती र हातले नै कुटपिट गरी योञ्जनलाई घाइते बनाए। योञ्जनले लगाएको २ तोला २ लालको सुनको ब्रासलेट र मोवाइल लुटेर उनीहरु फरार भएका थिए।

चन्द्रबहादुरको भने ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा भोलिपल्ट ज्यान गएको थियो।

घटनाको एक सातापछि राजधानीका विभिन्न स्थानबाट अपराध महाशाखाले हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेका तीन जानालाई माहाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ का ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, सिन्धुपाल्चोकको चौतारा बतासे नगरपालिका २ का २३ वर्षीय रमेश तामाङ र रामेछापको धोवी गाउँपालिका ५ का २७ वर्षीय प्रेम तामाङ रहेका छन्।

२५० किशोरकिशोरीद्वारा आफ्नो जीवनका भोगाइ कला सृजनामा व्यक्त गर्दै

अन्तराष्ट्रिय बालिका दिवसका अवसरमा प्लान इन्टरनेशनल नेपालले आर्ट इज पावर नामक कार्यक्रम आयोजना गरेको छ।

किशोरकिशोरीहरुलाई आफ्ना समस्या र भावनालाई कलाको माध्यमबाट अभिव्यक्त गर्न सघाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।

सुनसरी, सिन्धुली, मकवानपुर, बाँके, बर्दिया, जुम्ला, कालिकोटका गरी २१४ किशोरीसहित २५० जना किशोरकिशोरीहरुले भर्चुअल आर्ट वर्कसपमा सहभागिता जनाएका छन्।

उनीहरुले शव्दमार्फत् तयार पारेको रचनालाई कलाकारहरुले भिजुबल आर्ट तयार पार्नेछन्।

आयोजकका अनुसार १८ वर्षमुनिका किशोरकिशोरीलाई कविता, कथावाचन, गीत, रचनासहितका माध्यमबाट कला सृजना गर्नेबारे प्रशिक्षित गरिएको थियो।

प्लान इन्टरनेशनल नेपालकी राष्ट्रिय निर्देशक लिज सातोले भनिन्, ‘हाम्रो विश्वव्यापी अभियानको अंगको रुपमा हामीले युवा जमात् खास गरी किशोरीहरुलाई कलाको माध्यमबाट आवाज उठाउने मौका दिनका लागि यो कार्यक्रम आयोजना गरेका हौ।’

आर्ट इज पावर आयोजना भएको यो लगातार दोस्रो वर्ष हो।

यो वर्ष कोभिड १९ को महामारीका कारण प्लान इन्टरनेशनलले “कालो १०१” नामक संस्थाको साझेदारीमा भर्चुअल माध्यमबाट कार्यक्रम आयोजना गरेको जनाएको छ।

मकवानपुरकी एक सहभागी रोजिना अधिकारीले कोभिड–१९ को समयमा आर्ट इज पावरमा सहभागी भएर कलाको माध्यमबाट आफ्ना भावना व्यक्त गर्ने तरिका सिक्न पाउँदा खुशी लागेको बताइन्।

५ जना क्यानभास कलाकारसहित ११ जनाले किशोरकिशोरीलाई कलाको माध्यमबाट आफ्नो बारेमा बताउने तरिका र सीप सिकाएका थिए।

सिन्धुलीका लागि भर्चुअल सेसन सञ्चालन गरेकी कलाकार शुभाङ्गी खड्काले भनिन्, ‘कथा लेखन र कथा वाचनको महत्वबारे केन्द्रित सो प्रशिक्षणमा सिकाइएको बिषयवस्तुबाट सहभागीलाई परिवार र समाजमा विद्यमान शक्ति संरचनाबारे सोच्न र लेख्न सहयोग पुगेको छ।’

किशोरकिशोरीले तयार पारेको कलाहरुलाई आगामी नोभेम्वर २५ मा महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा भर्चुअल माध्यमबाट प्रदर्शनी गरिने जनाइएको छ।

आयोजकका अनुसार आर्ट इज पावर कार्यक्रम नेपालमा प्लान इन्टरनेशनलको गल्र्स गेट इक्वेल अभियान अन्तर्गत भएको हो, जसले समान शक्ति, स्वतन्त्रता र प्रतिनिधित्वको माग गरेको छ। यो अभियान नेपालमा मार्च ८, २०१९ मा शुभारम्भ भएपश्चात् लैंगिक समानताका लागि वातावरण निर्माण गर्न किशोरकिशोरीहरुलाई विभिन्न कार्यक्रममा सहभागी गराइएको छ।

माधव नेपालको प्रश्नः सीको भ्रमणबाट नेपालले कति लाभ लिनसक्यो?

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेको एक वर्ष पुरा भएको अवसरमा नेपाल–चाइना मिडिया फोरमले प्रकाशित गरेको पुस्तक ‘प्रेसिडेण्ट सी चिनफिङ्स नेपाल भिजिटः अ पिक्टोरियल गाइड’ को सोमबार पूर्व प्रधानमन्त्री, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपालले सार्वजानिक गरेका छन्।

सो समारोहमा पूर्वप्रधानमन्त्री नेपालले नेपाल–चीन सम्बन्ध सधैं हार्दिक र सुमधुर रहेको उल्लेख गर्दै यो सम्बन्धलाई अझै कसिलो र घनिभूत बनाउनु पर्ने बताए।

चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट नेपालले कति लाभ लिन सक्यो भन्ने समिक्षा गर्नुपर्ने बेला आएको उल्लेख गर्दै नेपालले भने, ‘कागजीरुपमा त लाभ लियौं तर व्यवहारिकरुपमा कति लाभ लिनसक्यौ? बेल्ट एण्ड रोड इनिसियटिभबाट कति लाभ लिन सक्यौं? यसको समिक्षा गर्दै भएका सहमति कार्यन्वयनमा जोड दिनुपर्छ।’

नेपाल चीनको विश्वासिलो मित्र भएको भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने, ‘हामी चीनसँग अझ विश्वासिलो र साझेदार देशकारुपमा अघि बढ्न चाहन्छौं।’

चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवका रुपमा सी चिनफिङले चीनको नेतृत्व सम्हालेपछि बेल्ट एण्ड रोड सम्बन्धी नयाँ सिल्क रोडको अवधारणा अगाडि सारेको उल्लेख गर्दै नेपालले भने, ‘पुरानो सिल्क रोडले जसरी एसिया र युरोपलाई जोडेको थियो, त्यसरी नै सारा विश्वलाई जोड्ने पहल चिनियाँ नेतृत्वले गर्यो। सी आएपछि यो अवधारणालाई अझ गति प्रदान गर्नुभयो। सिंगो मानवजातीको साझा भविष्यको परिकल्पना गर्दै सबैलाई आर्थिकरुपले लाभ हुने जुन प्रस्ताव अगाडि सार्नुभयो, त्यो अत्यन्तै सराहनीय छ।’

कार्यक्रमलाई सम्बोधन गर्दै चीनका लागि नेपालका पूर्व राजदूत लीलामणि पौड्यालले सीमासम्बन्धी सन्धी, पहिलोपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले गर्नुभएको चीन भ्रमणमा भएको व्यापार तथा यातायातसम्बन्धी सम्झौता, बेल्ट एण्ड रोड इनिसियटिभमा नेपालको हस्ताक्षर, राष्ट्रपति विद्या भण्डारीले गर्नुभएको चीन भ्रमण र चीनका राष्ट्रपतिबाट २३ वर्षपछि भएको नेपाल भ्रमण दुई देशबीचको सम्बन्धमा कोशेढुंगा भएको उल्लेख गरे।

उनले भने, ‘विश्वमा उदयीमान देश चीनजस्तो छिमेकी मुलुकबाट लाभ लिन सकेमा नेपालको समृद्धिको लक्ष्य पुरा हुनसक्छ र नेपाल पनि चीनसँगसँगै विकास र समृद्धिको यात्रामा अगाडी बढ्न सक्छ।’

विश्वमै ठूलो व्यापार साझेदार चीन जस्तो मुलुकको प्रभावशाली नेताको भ्रमण नेपालका लागि तात्वीक र आधारभूतरुपमै भिन्न र विशेष रहेको उनले बताए। त्यतिमात्र नभएर उक्त भ्रमण विश्व परिस्थिति र हाम्रो आन्तरिक कारणले पनि महत्वपूर्ण रहेको उनको भनाइ थियो।

कार्यक्रममा नेपाल–चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले चिनियाँ राष्ट्रपतिबाट २३ वर्षपछि भएको भ्रमण नेपालका लागि विशेष रहेको र यसले द’ई पक्षीय सम्बन्धमा विशेष महत्व राख्ने बताए।

सोमबार सार्वजानिक गरिएको पुस्तक ‘प्रेसिडेण्ट सी चिनफिङ्स नेपाल भिजिटः अ पिक्टोरियल गाइड’ मा चिनियाँ राष्ट्रपति सी, नेपालका पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, शेरबहादुर देउवा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग उपप्रमुख विष्णु रिजाल, सन योङका लेखहरु समावेश छन्।

साथै, पुस्तकमा दुई देशबीच भएका सम्झौताहरु, सी भ्रमणका तस्बिर र त्यसबेला नेपाली छापा माध्यममा प्रकाशित सामाग्रीहरु समावेश गरिएको छ।

बलिउड अभिनेत्री सना खानले फिल्मी क्षेत्रलाई गरिन् ‘गुड बाई’

भारतीय अभिनेत्री सना खानले फिल्मी क्षेत्र छाड्ने घोषणा गरेकी छन्।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट गर्दै आफू फिल्मी क्षेत्रबाट टाढा हुन लागेको जानकारी दिएकी हुन्।

‘बिगो बोस–६’ बाट चर्चामा आएकी उनी मोडल र नतर्की पनि हुन् । उनले आफ्नो करियरको सुरूवात मोडलिङबाट गरेकी उनले पछि विज्ञापन र चलचित्रहरूमा पनि काम  गरिन्। उनले हालसम्म ५ भाषाका १४ वटा चलचित्रहरूमा अभिनय गरिसकेकी छिन्।

‘यही है हाई सोसाइटी’बाट २००५ मा बलिउड डेब्यू गरेकी सनाले ‘बम्बै टु गोवा’‘धन धना धन गोल’, ‘हल्ला बोल’, ‘जय हो’ जस्ता चलचित्रमा अभिनय गरेकी छन्।

उनले आफू फिल्मी दुनियाँ छाडेर मानव सेवामा लाग्ने बताएकी छन्।

 

‘आज म तपाईंसँग मेरो जीवनको महत्वपूर्ण मोडमा कुरा गर्दैछु। म वर्षौं देखि फिल्म उद्योगमा जीवन बिताउँदै छु र यस अवधिमा सबै प्रकारको प्रसिद्धि, सम्मान र धन मेरो प्रियजनहरुका कारण सम्भव भयो। त्यसका लागि लागि म उनीहरुप्रति आभारी छु’, इन्स्टाग्राममा सनाले लेखेकी छन्, ‘तर, केही दिनदेखि मलाई यस्तो महसुस हुँदैछ कि यस संसारमा मानिस आउनुको अर्थ केवल उसले सम्पत्ती र नाम कमाउँनु मात्रै हो त? के उसको कर्तव्य गरिब र असहायहरूका लागि आफ्नो जीवन व्यतीत गर्नु होइन? के मान्छेले कुनै पनि बेला मृत्यु  आउँछ भनेर सोच्न जरुरी छैन र? मरेपछि उ के बन्ने वाला छ?’

फिल्म उद्योग छोड्ने घोषणा गर्दै सनाले मानवताको सेवा र आफ्नै निर्णयको बाटमा हिँड्ने घोषणा गरेकी छन्। उनले आफ्नो यस निर्णयमा कुनै प्रकारको दबाब नदिन पनि सबैमा आग्रह गरेकी छन्।

यसअघि ‘दंगल’की अभिनेत्री जायरा वसीमले फिल्मी क्षेत्र छाड्ने घोषणा गरेकी थिइन्।

राखेपको बोर्ड सदस्यमा ११ जना मनोनीत, को–को?

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्डका लागि ११ जना नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्का (प्रदेश १) सहित चन्द्रा बन्दना राई (प्रदेश १), मानदेव हजारा (प्रदेश २), मोहम्मद शेख (प्रदेश २), पुरेन्द्र लाखे (बागमती), राजेश गुरुङ (गण्डकी), सुमिचा चौधरी (लुम्बिनी), एकेन्द्र कुँवर (सुदूरपश्चिम) र नन्दा बस्याल (कर्णाली) लाई नियुक्त गरेको हो। ३७ सदस्यको बोर्डमा अन्य सदस्य भने पदेन रहने व्यवस्था छ।

राखेपका अध्यक्ष समेत युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले संघहरुको सिफारिसमा रेणुका श्रेष्ठ र सुवर्णा श्रेष्ठलाई मनोनीत गरेका हुन्। योसँगै राखेपको बोर्ड सदस्यमा ११ जना मनोनीत भएका हुन्। यसअघि मन्त्री सुनारले ६ जनालाइ मनोनीत गरेका थिए।

गत असार १८ गते लागू भएको राष्ट्रिय खेलकुद विकास ऐनअनुसार खेलकुदको विकासमा महत्पवूर्ण योगदान गरेका प्रतिष्ठित व्यक्ति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुमध्ये सबै प्रदेशबाट प्रनिधित्व हुने गरी महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम पिछडिएको क्षेत्रबाट समेतबाट प्रतिनिधित्व हुने गरी कम्तीमा तीन महिलासहित सरकारले मनोनीत गर्ने व्यवस्था छ। मनोनयन हुनेका कम्तीमा ५० प्रतिशत सदस्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुमध्येबाट हुनुपर्ने ऐनमा उल्लेख छ।

नेपालमा एकैदिन ५ हजार ८ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार देशभरमा थप ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ रहेको छ। उनका अनुसार आज देशभरमा संस्थागत आइसोलेनमा १३ हजार ६४५ जना रहेका छन्।

आज १९ हजार ३२० पीसीआर परीक्षण गरिएको थियो

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २२९ जना निको भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या ७४ हजार २५२ पुगेको छ।

यो कूल संक्रमितको ७०.२ प्रतिशत हो।

आइपीएल: यादव चम्केपछि मुम्बई शीर्षमा

सुर्यकुमार यादवले उत्कृष्ट ब्याटिङ गरेपछि मुम्बई इन्डियन्सले राजस्थान रोयल्समाथि ५७ रनको जित हात पारेको छ।

जितसँगै मुम्बई इन्डियन प्रिमियर लिग(आइपीएल)को शीर्षमा उक्लिएको छ।

यादवले ४७ बलमा ११ चौका र २

छक्कासहित ७९ रनको पारी खेलेपछि मुम्बईले निर्धारित २० ओभरमा १९३ रन बनाएको थियो।

 

त्यसमा कप्तान रोहित शर्माले २३ बलमा ३५ र हार्दिक पाण्ड्याले १९ बलमा ३० रन जोड्दै साथ दिएका थिए।

जवाफी ब्याटिङ राजस्थानले १८.१ ओभरमा सबै विकेट गुमाएर १३६ रनमात्रै जोड्नसक्यो।

उसका जस बटलरले ४४ बलमा ४ चौका र ५ छक्कासहित ७० रन जोडेपनि अन्य खेलाडीले साथ नदिदा राजस्थानले हार ब्यहोर्नुपर्यो।

 

बटलरबाहेक जेफ्रा आर्चरले २४ र टम कुर्रानले १५ रन जोड्नुभएको थियो।

 

योसँगै ६ खेलमा मुम्बईले ४ खेलमा जित र २ खेलमा हारसँगै ८ अंक जोडेर अंक तालिकाको शीर्षमा स्थान बनाएको छ।

 

एक खेल कम खेलेको राजस्थानले भने २ खेलमा जित र ३ खेलमा हार ब्यहोरेको छ। चार अंक जोडेको राजस्थान भने सातौं स्थानमा छ।

बिबि गुरुङ र मनमाया वाईवाको ‘बाँसैको चोयाले

‘बाँसैको चोयाले’ वोल रहेको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ। चर्चित गीतकार तथा संगीतकार सुजन लम्सालको शब्द तथा संगीतमा ‘बाँसैको चोयाले’ वोलको गीत सार्वजनिक भएको हो।

गीतमा कल्चरल तथा चर्चित गीत ‘फूल जस्तै’ का गायक बल बहादुर गुरुङ (बिबि) र  गायिका मनमाया वाईवाको सुमधुर स्वर रहेको छ। यो गीत बिबि गुरुङ र सुजन लम्सालको दोस्रो सहकार्य हो।

कोरस भोकलमा गायिका गीता सेन्चुरी, सरु थापा, गायक गंगा पुन, सुखदेव अधिकारीले स्वार दिएका छन्। गीतलाई कृष्ण बिकले संगीत संयोजन गरेका हुन्। मारुनी डिजिटल रेकर्ड स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई सुमन रानाले टेक लिएका हुन् भने मास्टरिङ तथा मिक्सिङ कुमार रानाले गरेका हुन्।

‘बाँसैको चोयाले’को म्युजिक भिडियोतर्फ पुरानै टीम दोहोरीएका छन्। जसमा निर्देशक मौसम हिमालीले भिडियोलाई निर्देशन गरेका छन्। हिमालीले अघिल्लो गीत ‘फूल जस्तै’मा पनि निकै उत्कृष्ट निर्देशन गरेका थिए।

निर्देशक हिमालीले मोडलद्वाय निर आले र रुबिना अधिकारीलाई छमछमी नचाएका छन्।

म्युजिक भिडियोलाई चर्चित छांयाकार करन चैसिरले छांयाकन गरेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन्।

नेपालमा एकैदिन ३४ सय ३९ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ३ हजार ४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ। त्यस्तै आज देशभरमा संस्थागत आइसोलेसनमा १० हजार ५९६ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा थप १४ हजार २०९ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको संख्या ११ लाख १३ हजार ४८५ पुगेको छ।

त्यस्तै आज थप ११ सय २९ कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ।

विराट कोहली बने टी–२० करिअरमा ९ हजार रन पूरा गर्ने पहिलो भारतीय खेलाडी

भारतीय टोली तथा रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहली टी ट्वान्टी करिअरमा ९ हजार रन पूरा गर्ने पहिलो भारतीय खेलाडी बनेका छन्।

इण्डियन प्रिमियर लिग (आईपीएल) को १९औं खेलअन्तर्गत सोमबार राति दिल्ली क्यापिटल्सविरुद्ध उनले ९ हजार रनको आँकडा पार गरेका हुन्।

९ हजार रन पूरा गर्न १० रन आवश्यक रहेको समयमा उनले खेलको पाँचौँ ओभरको पहिलो बलमा चौका हान्दै सो आँकडा पूरा गरे। उनले २ सय ८६ खेलमा यो आँकडा छोएका हुन्।

यो लक्ष्य पार गर्ने क्रममा उनले उनले ५ शतक र ६५ अर्धशतक प्रहार गरेका छन्। कोहलीलाई भारतका अर्को खेलाडी रोहित शर्माले पछ्याइरहेका छन्। रोहितले ३ सय २० पारीमा ८ हजार ८ सय १८ रन बनाइसकेका छन्।

आईपीएलमा कोहलीले ५५२४ रन बनाउँदा सुरेश रैना र रोहित शर्माले पछ्याइरहेका छन्।

कोहली अन्तर्राष्ट्रिय टी ट्वान्टीमा धेरै रन बनाउने भारतिय समेत हुन्। उनले २७५ खेलमा ५०.८० को एवरेजमा २७९४ रन बनाइसकेका छन्। हालसम्म उनको सर्वाधिक स्कोर ९४ छ। टि ट्वान्टी अन्तर्राष्ट्रियमा कोहलीले २७९४ रन बनाएका छन् भने उनलाई रोहित शर्माले पछ्याइरहेका छन्। शर्माको नाममा २७७३ रन छ।

कोहलीभन्दा अघि क्रिस गेल (१३,२९६) किरोन पोलार्ड (१०,३७०), शोयब मलिक(९९२६), ब्रेंडन मैकुलम(९९२२), डेविड वार्नर(९४५१) र आरोन फिन्चले(९१४६) टि ट्वान्टी क्रिकेटमा ९ हजार रन बनाइसकेका छन्।

टी ट्वान्टी क्रिकेटमा धेरै रन बनाउने विश्व किर्तिमान विष्फोटक ब्याट्सम्यान क्रिस गेलको नाममा छ। जारी आइपीएलमा किंग्स एलाभेन पञ्जावमा रहेका उनले अहिलेसम्म टोलीबाट खेल्न पाएका छैनन्। क्रिस गेलले २००५ बाट अहिलेसम्म ४०४ म्याचमा १४६. ९४ स्ट्राइक रेटमा १३ हजार २ सय ९६ रन बनाएका छन्। उनको नाममा २२ शतक, ८२ अर्धशतक छ।

तत्काल जारी गतिबिधी

माओवादी केन्द्रको बैठकमा उठ्यो ‘कम्युनिस्ट ब्रान्ड’ बनाउने चर्चा

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा पार्टीलाई कम्युनिस्ट पार्टीको ब्रान्ड ब्राण्ड बनाएर लैजान नेताहरुले सुझाव दिएका छन्। माओवादी ब्रान्डमा जनयुद्ध लडेर गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीता लागू गराउन...

प्रियंकाले निकलाई लाइभ सेसनमै चुम्बन गरिन्, त्यसपछि निकले जे भने त्यसको...

बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्ना श्रीमान निक जोनसलाई लाइभ सेसनमै चुम्बन गरेको भिडिओ यतिबेला निकै भाइरल भएको छ। भिडिओमा देखिएअनुसार निक आफ्ना फ्यानहरुसँग कुराकानी गरिरहेका...

विश्वकै शक्तिशाली अमेरिकी नौसेना उडुसका कारण आतंकित!

अमेरिकी नौसेना विश्वकै शक्तिशालीमध्ये एकमा पर्छ। परमाणु तथा अत्याधुनिक हतियार, प्रविधि नियन्त्रित सैन्य अस्त्र अमेरिकी नौसेनाको सबल पक्ष हुन्। अमेरिकी सेना भनेपछि विश्वका शक्तिशाली राष्ट्रहरु पनि...

उद्योग वाणिज्य महासंघको विधान संशोधनः चन्द्र ढकालले पाउलान् दुईपटक अध्यक्ष बन्ने...

नेपाल उद्योग वाणिज्य महासंघमा पशुपति गिरी र महेशलाल प्रधानपछि अध्यक्षमा आफ्नो कार्यकाल दोहोर्‍याउन अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई पनि अवसर प्राप्त हुने देखिएको छ। महासंघको...

मेयर्स कप क्रिकेट : आर्मीविरुद्ध वागमती प्रदेश विजयी

त्रिभुवन आर्मी क्लवलाई पराजित गर्दै वागमती प्रदेशले मेयर्स कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सुखद अन्त्य गरेको छ। कप्तान विनोद भण्डारीको उत्कृष्ट शतक प्रहार गरेपनि आर्मी...