एट्लेटिको म्याड्रिडको डेब्यूमा सुआरेजको कीर्तिमानी प्रदर्शन

एट्लेटिको म्याड्रिडको डेब्यूमा लुईस सुआरेजले दुई गोल गर्नुका साथै एक गोलमा सहायकको भुमिका निभाएका छन।

७०औं मिनेटमा मैदान प्रवेश गरेका सुआरेजको सानदार प्रदर्शनको मद्दतमा आइतबार राति स्पेनिस ला लिगामा भएको खेलमा म्याड्रिडले ग्रानाडालाई ६-१ गोलअन्तरले पराजित गर्यो।

भर्खरै बार्सिलोनाबाट अनुबन्ध भएका सुआरेज मैदान प्रवेश गर्नुअघि एट्लेटिकोका डियगो कोस्टा, एन्जिल कोरिया र जोए फेलिक्सले गोल गरिसकेका थिए।

उनले मैदान प्रवेश गरेको दोस्रो मिनेटमा नै मार्कुस लोरेन्टेको गोलमा पास उपलब्ध गराएका थिए।

८५औं मिनेटमा लोरेन्टको क्रसमा हेडर गोल गर्दै सुआरेजले डेब्यू गोल गरे भने इन्जुरी समयमा रिबाउन्डमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ६-१ को जित दिलाए।

गत शुक्रबारमात्रै सुआरेज एट्लेटिकोसँग दुई वर्षका लागि अनुबन्ध भएका थिए। उनी बार्सिलोनाका तेस्रो सर्वाधिक गोल स्कोरर पनि हुन। उनले बार्सिलोनामा ६ वर्ष बिताउँदा २८३ खेल खेल्दै १९८ गोल गरेका छन।

एट्लेटिकोको इतिहासमा डब्यू खेलमा गोल गर्ने र सहायकको भुमिका खेल्ने उनी पहिलो खेलाडी बने।

LEAVE A REPLY