मेयर्स कप क्रिकेट : आर्मीविरुद्ध वागमती प्रदेश विजयी

त्रिभुवन आर्मी क्लवलाई पराजित गर्दै वागमती प्रदेशले मेयर्स कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सुखद अन्त्य गरेको छ।

कप्तान विनोद भण्डारीको उत्कृष्ट शतक प्रहार गरेपनि आर्मी क्लव वागमती प्रदेशसँग १० रनले पराजित भयो। २ सय ६७ रनको लक्ष्य पछ्याएको आर्मी ४७ दशमलव १ ओभरमा २ सय ५६ रनमा अल आउट भयो। आर्मीका कप्तान विनोदले १ सय १४ बलमा ८ चौका र ७ छक्का सहित १ सय १९ रनको उत्कृष्ट शतकीय पारी खेले।

कप्तान विनोदले ९६ बलमा ८ चौका र ५ छक्का हान्दै शतक प्रहार गरेका थिए। विनोदले अघिल्लो महिना सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध १ सय ११ रन हानेका थिए। घरेलु एक दिवसिय क्रिकेटका विनोदको यो तेस्रो शतक हो।

लोकेश बम ४६, करण केसी २४। रोहित कुमार पौडेल १५ रनमा पवेलियन फर्के। अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन्।

वागमतीका अरियो पौडेलले ५ विकेट लिए। रामनरेश गिरीले २, नन्दन यादव, पारस खड्का र सोनु देवकोटाले १–१ विकेट लिए।

त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बागमती ४९ दशमलव ४ ओभरमा २ सय ६६ रन जोड्दा अलआउट भयो।

मुख्य ब्याट्सम्यान पारस खड्काले १ सय १९ रनको महत्वपूर्ण योगदान दिए। १ सय ३३ बलको सामना गरेका खडकाले २ छक्का र ११ चौका हाने। उनी सोमपाल कामीको बलमा जितेन्द्र मुखियाबाट ब्याच आउट हुन पुगे। पारसले १ सय २२ बलमा शतक पूरा गरेका थिए। उनले १ सय २२ बलमा ९ चौका र २ छक्का हान्दै शतक पुरा गरे। त्यसअघि पारसले ८० बलमा अर्धशतक पूरा गरेका थिए।

पारसले तेस्रो विकेटका लागि युवा ब्याट्सम्यान ईशान पाण्डेसँग ७३ रनको साझेदारी गर्दै इनिङ सम्हाल्लेका थिए। २२ औं ओभरको अन्तिम बलमा जितेन्द्र मुखियाले ईशानलाई २६ रनमा एलबिडब्लू आउट गरे। पाँचौं विकेटका लागि पारसले आदिल खानसँग ७६ रनको साझेदारी गरेका थिए।

आदिल २१ रनमा पवेलियन फर्के। नन्दन यादव ४२ रनमा नटआउट रहे। उनले २५ बलमा ५ चौका र १ छक्का हाने। अन्य ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

आर्मीका सोमपाल कामीले आफ्नो स्पेलमा ६५ रन खर्चेर ५ विकेट लिए। विक्रम सोब, जितेन्द्र मुखिया, करण केसी र साहब आलमले एक एक विकेट लिए।

लिगमा पुलिस ४ खेलमा ३ मा जित र १ मा हार सहित शीर्ष स्थानमा रहँदै उपाधि नजिक पुगेको छ। एपीएफ ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ नेट रनरेटमा दोस्रो हुँदै फाइनलमा स्थान बनाएको छ। फाइनल शनिबार हुने छ।

LEAVE A REPLY