भारतमा घट्दै कोरोना प्रभावः २ लाख ६३ हजार संक्रमित बन्दा ४ लाख २२ हजार कोरोनामुक्त

भारतमा कोरोना भाइरसबाट गएको २४ घण्टामा हालसम्मकै धेरै मानिसको मृत्यु भएको छ। त्यहाँ गएको २४ घण्टामा ४ हजार ३२९ जनाको मृत्यु भएको हो।

एकैदिनमा धेरैको मृत्यु भएता पनि भारतमा कोरोनाको प्रभाव निकै कम हुँदै गएको छ। लगातार २५ दिनसम्म ३ लाखभन्दा बढीले भारतमा संक्रमित थपिरहेका थिए।

तर सोमबारदेखि भारतमा संक्रमितको मामिला ३ लाख मुनी पुगेको छ। मंगलबार पनि भारतमा २ लाख ६३ हजार ५३३ कोरोना संक्रमित बने।

सोही अवधिमा त्यहाँ ४ लाख २२ हजार ४३६ कोरोनामुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अर्थात् भारतमा संक्रमित हुनेभन्दा दोब्बरले कोरोनामुक्त भइरहेका छन्।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ५२ लाख २८ हजार पुगेको छ। कोरोनाका कारण त्यहाँ २ लाख ७८ हजारको मृत्यु भइसकेको छ।

अहिले ३३ लाख ५३ हजार सक्रिय संक्रमित रहेको भारतमा हालसम्म २ करोड १५ लाख ९६ हजार कोरोनामुक्त भएका छन्।

कोरोनाविरुद्धको खोप अभियान जारी रहेको भारतमा १८ करोड ४४ लाख ५३ हजार मानिसले खोप लगाइसकेका छन्।

LEAVE A REPLY