नेपाल टेलिकमले चालू वर्षभित्रै फाइभजी नेटवर्क सञ्चालन गर्ने भए

नेपाल टेलिकमले चालू वर्षभित्रै फाइभजी नेटवर्क सञ्चालन गर्ने भएको छ।

देशभर ९२ प्रतिशत स्थानीय तहमा फोरजी नेटवर्क पुर्याइसकेको छ। नेपाल टेलिकमले यही वर्षभित्र फाइभजी सञ्चालन ल्याउने भएको हो।

फाइभजी नेटवर्क सञ्चालनको लागि नेपाल टेलिकमले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाइसकेको छ।

नेपाल टेलिकमका अनुसार २०७८ जेठ १६ गते नै अनुरोध पत्र पठाइसकको जानकारी गराएको हो। नेपाल टेलिकमको फाइभजी नेटवर्कको विषयमा प्राधिकरणले अहिले कार्यनीति तयार गरिरहेको भन्दै टेलिकमलाई जानकारी दिएको छ।

टेलिकमको फोरजीको सेवा विस्तार पाएको चिनियाँ कम्पनी हुवावे र जेटटीईले फोरजीको इन्स्टलेसन यो वर्ष सकिँदै छ। यही कम्पनीसँगको सम्झौताअनुसार फाइभजीको परीक्षण गर्न लागेको हो।

तर परीक्षण मात्रै होइन अब फाइभजीको व्यावसायिक सञ्चालन गर्ने समेत टेलिकमले जानकारी गराएको छ।

टेलिकमका प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा फाइभजीको परीक्षण सम्पन्न गरी व्यावसायिक सञ्चालनको सुरुवात गरिनेछ।

उनले भने, ‘फोरजीको नै जिम्मेवारी पाएको हुवावेले टेलिकमले तोकेको फाइभजी परीक्षण गर्न मिल्ने चार स्थानमा फाइभजीको परीक्षण गर्नेछ।’

खर्च कति लाग्छ?
नेपाल टेलिकमका अनुसार फोरजी सेवा विस्तारको लागि १९ अर्ब रुपैयाँको ठेक्का सम्झौता भएको थियो। अहिले नेपालको ९२ प्रतिशत स्थानीय तहमा यो सेवा विस्तार भइसकेको छ।

यसलाई नेपालभर बनाउने योजना टेलिकमको छ। अब फाइभजीको लागि परीक्षण सफल भएपछि छुट्टै टेण्डर आह्वान हुनेछ।

त्यसपछि कम्पनी छनोट हुनेछ।  फाइभजीको खर्च मूल्यांकनको विषयमा अहिले प्राविधिक छलफल भइरहेको टेलिकमले जानकारी गराएको हो।

नेपाल टेलिकमको नेपालमा हिस्सा अहिले ७० दशमलव ४० प्रतिशत कायम रहेको दाबी गरेको छ। टेलिकमको इन्टरनेट ग्राहक हिस्सा ६८ दशमलव २६ प्रतिशत रहेको छ। नेपाल टेलिकमको ग्राहक संख्या अहिले २ करोड ४ लाख रहेको छ।

यही आर्थिक वर्षभित्र स्थानीय टेलिफोन तथा एडीएसएललाई फाइवरमा रुपान्तरणको कार्य गर्ने संस्थाको एकाइहरुको कार्यसम्पादनको अभिलेख राख्ने तथा मूल्यांकन गर्ने प्रक्रिया पूर्ण स्वचालिन बनाउने योजना समेत टेलिकमले जानकारी गराएको छ।

आज आयोजित कार्यक्रममा प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीले निकट भविष्यमै टेलिकमका ग्राहकका लागि ‘फ्रि वाइफाइ खोज्दै हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताए।

उनले डेटा सेवालाई सुलभ बनाउने योजना ल्याउनलागेको आजको कार्यक्रममा संकत गरेका हुन्।

उनले भने, ‘डेटा शुल्क महंगो भएका कारण ग्राहकले सावधानीपूर्वक खर्च गर्नुपर्ने बाध्यता रहेको प्रति जानकार छौँ।’

LEAVE A REPLY