नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीमाथि कटाक्ष

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीमाथि कटाक्ष गरेका छन्।

राष्ट्रिय युवा संघ नेपालको सोमबार राजधानीमा भएको राष्ट्रिय भेलालाई सम्बोधनका क्रममा उनले रामकुमारीमाथि कटाक्ष गरेका हुन्।

‘अहिले मन्त्री हुन खुट्टो उचालेर बसेका छन् तिनै मान्छे ज्याकेट फिल्मी स्टाइलमा फुत्त फाल्थे। आफैंले टाँसेको टेप स्वाट स्वाट निकाल्थे। अनि बोल्न पाइन्छ भन्थे’, उनले भने, ‘तिनीहरुको सरकारलाई सोध्छु बोल्न पाइन्छ कि पाइँदैन। राष्ट्रियताबारे सुन्न पाइन्छ कि पाइँदैन?’

ओलीले देशकोबारेमा, राष्ट्रियताबारेमा छलफल गर्न पाउनुपर्ने तर्क गरे। ‘देशकोबारेमा राष्ट्रियताबारे बोल्न छलफल गर्न पाउनु पर्छ कि पर्दैन। आफैं टेप टाँसेर आएको छ, आफैंले उप्काएर बोल्न पाइन्छ भनेको छ। अहिले किन भन्न सक्दैन ती दल र नेताहरु। सरकारमा बसेकाहरु अपराधका हिस्सेदारहरु किन बोल्न सक्दैनन्।’

उनले हिजो आफ्नो सरकारको पालामा जसलाई जे पनि प्रयोग गरेर गाली गरिएको बताए। ‘हिजो त जसलाई जे पनि गाली गरे पनि हुन्थ्यो। हिजो अधिनायकवाद भयो भन्थे। अहिले डेमोक्रेसीमा ड्यामका ड्याम प्रहार हुँदैछ। संविधानलाई चुनौती दिएर बोल्न पाइँदैन भन्छन्। बोलेमा कारबाही गर्छु भनेर थर्काउँछन्’, ओलीले भने, ‘अब के के गर्छौ भनेर बोल्लान्। अब यिनीहरुले उधुम मच्चाउँछन् एमालेले विरोध गर्यो भनेर। देश र जनताको बारेमा बोलेनौँ भनेर।’

LEAVE A REPLY