गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेसँग सम्पत्ति कति होला?

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेसँग सम्पत्ति कति होला? सम्पत्ति शुद्धीकरण विभागको छानबिनमा परेका उनी स्वयम् पनि यसको उत्तर दिन सक्दैनन्।

आफ्नो सम्पत्ति बढे पनि कति पैसा छ भन्ने थाहा नभएको जिकिर उनैले आइतवार पोखरामा गरेका छन्।

खेलकुद मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘म आफैँ कन्फ्युज छु, के छ के छैन, पहिलो श्रीमतीलाई दिएँ, छोराको नाममा पास गरिदिएको छु, अहिले के छ के छैन मलाई नै थाहा छैन।’

गण्डकीमा अरु मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरे पनि कृषिमन्त्री चन्द्रबहादुर बुढा र  दीपक मनाङले विवरण बुझाएका छैनन्।

उनले आफूले पहिला व्यवसाय गर्दा पैसा कमाएको र केही पैसा उठ्न बाँकी रहेको दाबी गरे।

पत्रकारको प्रश्नको उत्तर दिन नचाहेका उनी सम्पत्ति विवरण किन सार्वजनिक गर्नुभएन भन्ने प्रश्नको संक्षिप्त उत्तर दिएपछि मन्त्रालयबाट बाहिरिए।

सत्ता गठबन्धनको लागि ‘तुरूप’ बनेका उनी गएको वैशाख १६ गते पहिलो, जेठ ९ गते दोस्रो र जेठ २९ गते गरी तेस्रो पटक गण्डकीको मन्त्री भएका हुन्।

मन्त्री भएपछिको पहिलो पत्रकार सम्मेलनमा उनले आफ्नो मन्त्रालयमा ५७ करोडको बजेट रहेको र त्यो मध्ये ६० प्रतिशत खेलकुदमै लगाउने बताए।

बाँकी रकम भने युवा स्वरोजगारमा खर्चिने उनको भनाइ थियो । रोजगारमा लाग्न चाहने युवाहरुको समूहलाई २५ लाखसम्म ऋण दिने उनको घोषणा थियो।

यसअघिको सरकारले खेलकुदको लागि सिन्को पनि नभाँचेको जिकिर गर्दै उनले म्याग्दी र बागलुङको लागि २ करोड रुपैयाँ बाँकी ९ जिल्लाका लागि पनि २ करोड बजेट दिनु न्यायोचित नभएको बताए।

उनले आफूले सम्हालेको मन्त्रालयमा सचिव आउनै नमानेको पनि जिकिर गरे। ‘सचिव अहिलेसम्म पाएको छैन, सचिव आऊ  भन्दा बजेट छैन भन्छ,’ उनले भने, ‘तलब खान पाएकै छ, सचिवको काम बजेट हेर्ने हो र?’

खेलकुद मन्त्रालयको आफ्नै बैंक खाता पनि नभएको उनले खुलासा गरेका छन्।

LEAVE A REPLY